ओम शर्मा –

  • नेपाली पत्रकारिता सामान्य अवस्थाबाट यहाँ आइपुगेको होइन । नेपाली पत्रकारिताको विगत गर्व गर्नलायक छ । आज हामी सशक्त रुपमा अगाडि बढिरहेका छौं । स्वतन्त्रपूर्वक पत्रकारिता गरिरहेका छौं । जग सामान्य छैन । एउटा गर्विलो इतिहासबाट शुरु हुन्छ । नेपाली पत्रकारिता पञ्चायतकालीन निरंकुशताको बीचबाट विकास भएको हो । नेपालमा पत्रकारिता क्षेत्र विकासको क्रममा रहँदा पञ्चायतकाल थियो । एउटा हेडिङ लेख्दा पनि अञ्चलाधीशको कार्यालय पुर्‍याउनुपर्ने बाध्यता थियो । समाचार लेखेकै कारण सम्पादक, प्रकाशक र सयौं पत्रकारले जेलनेल भोग्नु परेको थियो ।
  • हिजो र आजको पत्रकारिता दाँजेर हेर्दा यस्तो लाग्छ– हिजो केही नभएर पनि धेरै गरियो । तर आज, सबथोक भएर पनि केही गर्न सकिएजस्तो लाग्दैन । पञ्चायती प्रतिबन्धको अवस्थामा पनि उत्पीडित जनताको पक्षमा चलेको कलम रोकिएन, जनताको पक्षमा सधैं आवाज बुलन्द थियो । त्यो समयमा मिसन पत्रकारिता गरेका थियौं । हाम्रो मिसन उत्पीडित जनताको मुक्ति थियो । हाम्रो कलम शासकलाई खबरदारी गर्न सधैं अग्रसर थियो ।
  • आज पत्रकारिता पेसा भएको छ । पत्रकारिता गरेबापत जीवनयापनका लागि अर्थ उपार्जन हुने वातावरण बनेको छ तर त्यो समय यस्तो थिएन । पत्रकारिता दुःखको पहाड थियो । आज जस्तो निजी क्षेत्र थिएन । शासकले विज्ञापन दिने कुरा भएन । प्रेसहरु आधुनिक थिएनन् । लेटर प्रेसमा एक–एक अक्षर जोडेर तयार पारेको समाचारमा पनि सेन्सर लाग्थ्यो । त्यो बेलाको पत्रकारिता सम्झदा आज सबथोक पाएझैँ लाग्छ । आज सबैभन्दा ठूलो कुरा स्वतन्त्रता छ । स्वतन्त्र रुपमा लेख्न र बोल्न मिल्ने अवस्था बनेको छ । प्रविधिको विकासले अत्यन्तै सहज बनाएको छ । प्रविधिको विकाससँगै पत्रकारिताले थप शक्ति आर्जन गरेको छ ।
  • पत्रकारितामा पैसा हुने कुरा थिएन । अहिलेजस्तो तलब खान पाउने अवस्था थिएन तर पनि पञ्चायती तानाशाहीविरुद्ध पत्रकारिता क्षेत्रले निरन्तर खबरदारी गरेको थियो । त्यस्तो अवस्थामा गरिएको पत्रकारिताले पञ्चायत ढल्यो । आज पत्रकारिताले प्राप्त गरेको शक्तिको जग त्यही हो । अपेक्षाकृत उपलब्धि हासिल नभए पनि पञ्चायतविरुद्धको आन्दोलन सफल भयो । राजनीतिक दलहरुले बहुदलीय व्यवस्थामा चित्त बुझाए । आन्दोलनमा केही धोका भयो तर पनि २०४६ सालको जनआन्दोलनबाट मिडिया जगतमा ठूलो परिवर्तन भयो । त्यो हाम्रो संघर्षको बलमा सम्भव भएको हो ।
  • जनयुद्धले पत्रकारिता गाउँ पुर्‍यायो
  • २०४६ सालको परिवर्तनपछि स्वतन्त्रता आयो । मिडियामा ठूला–ठूला साहुमहाजनहरु पनि आए । तर, पत्रकारिता सिंहदरबार वरिपरि नै केन्द्रित भयो । पञ्चायतकालजस्तै बहुदल आएपछि पनि जनताको पत्रकारिता सीमित मान्छेले मात्रै गरे । सिंहदरबार वरपर रहेर शासकहरुको स्तुतिगानमै पत्रकारिता रुमलियो । त्यसलाई चिर्ने काम नेपालको एक ऐतिहासिक क्रान्तिको रुपमा नेकपा माओवादीको नेतृत्वमा भएको जनयुद्धले ग¥यो । त्यो हामीले नै सुरु गर्‍यौँ । योजना, जनादेश, जनआह्वान, महिमा, पृष्ठभूमिलगायत पत्रिकामार्फत् सशक्त ढंगबाट जनपक्षीय पत्रकारिता भयो । यिनै मिडियाले जनताको पक्षमा समाचार लेखे ।
  • मुलतः माओवादीले विद्रोह शुरु गरिसकेपछि वर्गसंघर्ष गाउँमा भयो । गाउँमा भएका संघर्षका आयामहरुलाई शहरका सञ्चार माध्यमबाट आम जनतासम्म पुर्‍याउने काम भयो । त्यसले नेपाली पत्रकारीतामा नयाँ आयाम ल्यायो । त्यसमा हाम्रो भूमिका छ । गाउँमा भएको वर्गसंघर्षको कुरा मिडियाबाट बाहिर ल्याउन थालिएपछि गाउँ, शहर र दुनियाँ ब्युझियो । आफूलाई मुलधार भन्नेहरु पनि जनताका बीच जानुपर्ने बाध्यता बन्यो । जनयुद्धमा जनमुक्ति सेनाले ठूला–ठूला आक्रमण गर्दा त्यसको रिर्पोटिङ गर्न कान्तिपुरजस्ता आफूलाई व्यावसायिक भन्ने मिडियाहरु समेत हेलिकप्टर चढेर त्यहाँ पुगे । मुलधारकै पत्रकारिता गर्ने नारायण वाग्ले, गुणराज लुइटेलजस्ता वरिष्ठ पत्रकार साथीहरु गाउँ–गाउँ गएर माओवादीले के गरिरहेको छ ? माओवादी आन्दोलनको प्रभाव कस्तो परिरहेको छ ? भनेर सार्वजनिक गर्ने अभियान चलाउनु भयो । त्यो हाम्रै कारण सम्भव भएको हो ।
  • जहाँ–जहाँ आन्दोलनको केन्द्रविन्दु थियो, त्यहाँ गएर हामीले पत्रकारिता ग¥यौँ । त्यो समय हामीले प्रिन्टमा मात्र होइन, रेडियो र टेलिभिजनमा उत्पीडित वर्गको पहुँच पु¥याउने काम ग¥यौँ । मिडियामा उत्पीडित समुदयाका व्यक्तिलाई स्थापित थर्ने काम हामीबाटै भयो । त्यो मुलत प्रिन्ट मिडियाबाटै भएको थियो । यसरी पत्रकारिता शासकको स्तुतिगानबाट जनतासम्म पुगेको हो । आज त्यसले झनै व्यापकता पाउने अवस्था बनेको छ ।
  • छापा माध्यम बचाउने चिन्ता
  • पछिल्लो एक दशकमा पत्रकारिता क्षेत्रमा अभूतपूर्व परिवर्तन भएको छ । प्रविधि र पत्रकारिता दुवै कोणबाट आमूल परिवर्तन भएको छ । यसो भनिरहँदा प्रिन्ट मिडियाको महत्व नै छैन भन्ने होइन । यसको आफ्नै इतिहास र महत्व छ । विडम्बना हिजो परिवर्तनका लागि योगदान गरेका प्रिन्ट मिडियाहरु आज दुःखदायी अवस्थामा गुज्रिरहेका छन् । पत्रिका बिक्न छोडेको छ । विज्ञापन पाउने अवस्था छैन । साना उद्योगका रुपमा रहेका त्यस्ता मिडियालाई राज्यले हेर्न सकेको छैन । त्यसलाई बचाउने हाम्रो दायित्व बनेको छ । अनलाइन मिडिया आएपछि धेरै पुराना प्रिन्ट मिडिया बन्द भएका छन् । न्यूजवीक जस्ता मिडिया त्यसका उदाहरण हुन् । हाम्रै देशमा पनि त्यस्तै अवस्था बनेको छ तर विगत सम्झँदै परिवर्तन स्वीकानुपर्ने हुन्छ ।
  • आजको अनलाइन पत्रकारिता
  • समय सधैं एकनासको हुँदैन । त्यो समय छापा पत्रकारिता गर्नु दुःखको पहाड बोक्नु थियो । तर, प्रभावको दृष्टिकोणमा आजको जस्तो शक्तिशाली थिएन । अहिलेको पत्रकारिताको निश्चित केन्द्र हुँदैन । तपाईं जहाँ बस्नु हुन्छ त्यहीँ केन्द्र हो । जहाँबाट पनि पत्रकारिता गर्नसक्ने अवस्था बनेको छ । अर्थात् पत्रकारिता अब निहीत व्यक्तिको नियन्त्रणमा रहने अवस्था रहेन । आज जसले जहाँबाट पनि जनताको पक्षमा पत्रकारिता गर्न सक्ने वातावरण बनेको छ । अनलाइन पत्रकारिताको एउटा महत्वपूर्ण कुरा के हो भने प्रिन्ट मिडियाबाट थोरै मान्छेलाई जागरुक बनाउन सकिन्थ्यो । तर, अनलाइन पत्रकारिताबाट लाखौं करोडौं जनतालाई सेकेन्डमै ब्युँझाउन सकिन्छ । हामी जनताको पक्षमा पत्रकारिता गर्नेहरुको लागि यो सबैभन्दा प्रभावकारी माध्यम हो । जनयुद्धको बेलामा यस्तो अवसर पाएको भए धेरै हुन्थ्यो जस्तो लाग्छ । यस अर्थमा अनलाइन मिडियाको ठूलो महत्व छ ।
  • आजको व्यावसायिक पत्रकारिता
  • मिसन पत्रकारिता र व्यावसायिक पत्रकारिताबीच ठूलो अन्तरविरोध छ । आफूलाई मुलधार र अरुलाई इतर भन्ने मिडियाबीच अन्तरविरोध छ तर जनताको पक्षमा कलम चलाउनेहरुले नै मुलधारको पत्रकारिता गरेका हुन् । यसो भन्दै गर्दा व्यावसायिक पक्ष छोड्ने कुरा हुँदैन । बाँचेर विचार प्रवाह गर्नुपर्ने हुन्छ । व्यावसायिक पाटोमा कमजोर हुने हो भने विचार प्रवाह गर्न सकिन्न । तपाईंको मिडिया सशक्त हुने हो भने तपाईंलाई विज्ञापन दिनेहरु आफै आउँछन् । आफू सशक्त हुने हो भने कसैसँग कुनै पनि कुरामा सौदावाजी गर्नु पर्दैन । कोहीबाट नियन्त्रित हुनु पर्दैन ।
  • जनताको पक्षमा पत्रकारिता गर्ने भन्दैमा व्यावसायिक पाटो बिर्सने कुरा हुँदैन । व्यावसायिक पक्षलाई बलियो बनाउन नसक्ने हो भने तपार्इंको मिडिया संस्थागत हुन सक्दैन । संस्थागत संरचना विकास नहुने हो भने विचार प्रवाह गर्न सकिँदैन । त्यसैले जनताको पक्षमा आधारित व्यावसायिक पत्रकारिता आजको आवश्यकता हो । त्यसका लागि तपाईं–हामी अब्बल बन्नुपर्छ, हामीले सञ्चालन गर्ने मिडिया अब्बल हुनुपर्छ ।जनताको पक्षमा कलम चलाउने हामीलाई अनेक आक्षेप लाग्छ । राजा महाराजा र साहुमहाजनको स्तुतिगानमा रम्नेहरुले हामीलाई व्यावसायिक भन्दैनन् तर त्यो भ्रम हो । जनताको पक्षमा कलम चलाउनु नै व्यावसायिक पत्रकारिता हो । त्यो नै मूलधारको पत्रकारिता हो । आजसम्म हामीले नै व्यावसायिक पत्रकारिता गर्दै आएका छौँ । मूलधारको पत्रकारिता गर्ने हामी नै हौँ तर हामी परिमार्जन हुन आवश्यक छ । जनताको कुरा लेख्ने भन्दैमा समाज बिर्सने कुरा हुँदैन । हाम्रो पत्रकारिताले समाजको बिम्ब स्वीकार गर्न सक्नुपर्ने हुन्छ ।
  • समाजको जुन धरातल र यथार्थ छ त्यो भन्दा बाहिर जानु हुँदैन किनभने हामीले भनेजस्तो सबै प्राप्त भएको छैन । हामी बाँच्ने भनेको विज्ञापनबाट नै हो । विज्ञापनभन्दा अरु हुँदैन । विज्ञापन त हाम्रो अधिकारको कुरा हो । विज्ञापनले विचार नियन्त्रण गर्छ भन्ने मान्यता पनि छ तर त्यो तपाईंले कस्तो पत्रकारिता गर्दै हुनुहुन्छ भन्ने कुरामा भर पर्छ । तपाईं दास बन्नुहुन्छ कि पत्रकारिता गर्नुहुन्छ ? भन्ने हो । साँच्चिकै जनपक्षीय पत्रकारिता गर्नुहुन्छ भने खबरदारी गर्नुहुन्छ । कोहीबाट नियन्त्रित हुनु पर्दैन ।व्यावसायिक पत्रकारिताको अर्थ पत्रकारिता गरेर बाँच्नुपर्ने भन्ने होला । यसमा विमति राख्नुपर्ने छैन । जनताको कुरा लेख्दा व्यावसायिक पत्रकार भइन्न भन्ने होइन । हामीले लेख्नुपर्ने जनताकै कुरा हो । जनजीविकाका सवाल हाम्रा समाचार हुन् । जनताको समाचार लेख्दा विज्ञापन पाइन्न भन्ने होइन । विज्ञापन नपाउँदा व्यावसायिक पत्रकारिता हुँदैन भन्ने होइन । मूलधारको पत्रकारिता हुन्न भन्ने होइन । हामीले जनताकै समाचार लेख्ने हो । जनताकै समाचारमार्फत् आफूलाई स्थापित गर्ने हो । त्यो नै आजको हाम्रो मिसन हो ।
  • आजको पत्रकारिता कस्तो ?
  • लेटर प्रेसबाट पनि पत्रकारिता गरियो, ओढारमा बसेर पनि गरियो । जतिबेला सबै पत्रपत्रिका बन्द थियो । त्यो बेलामा पनि हामीले लाखौं प्रति पत्रिका छाप्थ्यौँ । डोकोमा रेडियो बोकेर पनि जनतालाई सु–सूचित गर्ने काम गरियो । त्यो पत्रकारिता जनताको पक्षमा थियो । त्यो एउटा इतिहास भयो तर वर्तमानमा परिवर्तनलाई आत्मसाथ गर्दै अनलाइन पत्रकारितामा जोड दिनुपर्छ भन्ने लाग्छ । अनलाइन पत्रकारिता एउटा ढंगले सरल त छ । तर, हिजोको जस्तो एउटा पार्टीको वा एउटा विचारको मात्र गीत गाउने हो भने चल्दैन । समाज कस्तो छ भन्ने पनि बुझ्न आवश्यक छ तर लक्ष्य उद्देश्य चाहिँ भुल्नु हुँदैन ।
  • लाखौं मान्छे दौडिरहेको ठाउँमा हामीले पनि आफ्नो स्टल खडा गर्न सक्नुपर्छ । छापा पत्रकारिता गर्दै आएका थियौँ अनलाइनमा आएर विस्थापित भयौं भन्ने होइन । माक्र्सवादी दृष्टिकोणमा कार्यनीति छिनछिनमा बदलिन्छ । पत्रकारिता पनि त्यस्तै हुनुपर्छ । जनताको पत्रकारिता गर्ने व्यक्तिले तत्काल समय र परिस्थिति हेरेर योजना बनाउनुपर्छ । त्यसका लागि उपयुक्त माध्यम अनलाइन मिडिया हो । अनलाइन पत्रकारिताबाट जनताको पक्षमा पत्रकारिता गर्न सहज र असहज दुवै हुन्छ । हरेक रुखका पात एउटै देखिन्छन् तर खासमा सबै रुखको पात एउटै हुँदैन । फरेष्ट्री विज्ञानले कुनै पनि रुखको पात कुनैसँग मिल्दैन भन्छ । हाम्रो पत्रकारिता पनि त्यस्तै हुनुपर्छ । अरुले गरे जस्तै गर्ने हो भने हाम्रो के काम ? हामीले जति सकिन्छ त्यति नै जनताप्रति उत्तरदायी भएर पत्रकारिता गर्नुपर्छ । थोरै भए पनि उत्पीडित जनतालाई केन्द्रमा राखेर पत्रकारिता गर्ने हो भने त्यो नै ठूलो कुरा हो । जनताको चाहना एकातिर छ, राजनीतिक पार्टीहरुको काम अर्कोतिर छ भने हामीले तिनको गीत गाएर हुँदैन ।
  • (कुराकानीमा आधारित)