संगीता खड्का – 

२०५८ साल मंसिर ११ गतेबाट राज्यले संकटकाल घोषणा गरेयता दर्जनौं पत्रकार मारिएका र बेपत्ता पारिएका थिए भने सयौं पत्रकारले जेल नेल व्योहोरेका थिए। ती मारिएका, बेपत्ता पारिएका र जेल नेल व्यहोरेका पत्रकारको गल्ती यत्ति थियो कि उनीहरु कालोलाई कालो सेतोलाई सेतो भन्दथे। राज्यले दिएको सूचनाभन्दा केही फरक तथ्य प्रकाशन/प्रशारण भयो भने त्यो पत्रकार निशानामा परिहाल्दथे। विश्वमा पत्रकारप्रति क्रूर राज्यको रुपमा नेपाल एक नम्बर बनेको समय थियो। व्यावसायिक मिडियामा कार्यरत पत्रकारसमेत निशानामा परेको त्यो समयमा हामी जनपक्षीय मिडियामा कार्यरत पत्रकार त पहिलो निशानामा पर्ने नै भयौँ।

२०५८ साल मंसिरबाट राज्यले संकटकाल घोषणा गरेयता दैनिक रुपमा नै मिडियामाथि हस्तक्षेप भइरहेको थियो। दर्जनौँ निहत्था पत्रकार मुठभेडका नाममा मारिएका थिए त कति बेपत्ता बनाइएका थिए भने आतंककारीका नाममा मिडिया हाउसबाटै पत्रकार समातिएका थिए। यसैबीच २०५९ माघ १५ मा युद्धविराम भएपछि क्रमशः जेलमा रहेका पत्रकार रिहा भएका थिए। म स्वयं पनि २०५९ साल चैत्र ७ गते क्रूर यातना व्यहोरेर ११ महिने हिरासत÷जेल बसाइपछि रिहा भएको थिएँ। म लगायत दर्जनौँ साथी त रिहा भयौँ तर दुर्भाग्य एउटै हिरासतमा भेटिएका हाम्रा अभिभावक कृष्ण सेन ‘इच्छुक’लाई हामीले सँगै ल्याउन पाएनौँ। त्यसैगरी २०५५ सालदेखि नै बेपत्ता पारिनुभएका मिलन नेपालीहरु अझैँ पनि बेखबर नै हुनुहुन्थ्यो। तत्कालका लागि त युद्धविराम भएको थियो तर यो युद्धविराम आँधी आउनुअघिको सन्नाटाजस्तो थियो।

यो परिस्थितिमा सहज रुपमा हामीले जनपक्षीय पत्रकारितालाई अघि बढाउन सम्भव थिएन। फेरि पनि प्रतिबन्ध, जेल÷नेल, मारिनु, बेपत्ता बनाइनु नै थियो। यस्तो अवस्थामा काठमाडौँ बाहिर दूरदराजका खबर अब दूरदराजबाटै लेख्ने र बोल्ने संकल्पसहित हामी नेकपा (माओवादी)सँग एकाकार हुदै जनपक्षीय पत्रकारिता गर्न काठमाडौँ बाहिर पुग्यौँ।देशका ५ ठाउँमा आ–आफ्नो तोकिएको जिम्मेवारी लिएर हामी पत्रकार पनि ग्रामीण इलाकामा पुग्यौँ। रिर्पोटिङको सिलसिलामा काठमाडौँ बाहिरका केही सीमित जिल्लामा गएको बाहेक मसँग काठमाडौँ बाहिरको अनुभव थिएन। काठमाडौँमा जन्मे हुर्केको कारण पहाडका उकाली ओरालीसँगको साक्षात्कार मेरा लागि नयाँ अनुभव थियो। झाङ्गिदै गएको जनयुद्धका अभियानलाई नजिकबाट नियाल्नु थियो। योद्धाहरुले लडेका वीरताको गाथा लेख्नु थियो। जनताको मुक्तिका लागि भएको त्यस महान् अभियानमा जनताले साथ कसरी दिएका छन् भन्ने कुरा आफ्नै आँखाले देख्नु थियो र त्यस अभियानका कथाहरुलाई जनताकै भाकामा धेरैले पढ्ने र सुन्ने बनाउनु थियो।

त्यही अभियानकै सिलसिलामा हामी कोही पत्रिका प्रकाशन गर्ने जिम्मामा त कोही रेडियो प्रसारण गर्ने जिम्मामा रह्यौँ। जनयुद्धका गतिविधिलाई स्थलगत रुपमै रिपोर्टिङ गर्नेदेखि देशभरका यथार्थ गतिविधिलाई संकलन गरेर प्रसारण गर्न थाल्यौँ। राज्यका निकायसँग जति अनुकूलता भए पनि ग्रामीण क्षेत्रका चुचुराहरुबाट प्रसारित रेडियोको ध्वनि जनताका घर–घरमा मात्र होइन उनीहरुकै व्यारेकसम्म पनि हावाको तरंगबाट पुग्दथ्यो। सहर बजारमा जनपक्षीय पत्रकारिता गर्नलाई प्रतिबन्ध लगाए पनि ग्रामीण इलाकाहरुबाट प्रसारित सामग्रीलाई न त रोक्न सक्दथे न त छेक्न। अस्थायी संरचनामा छापामार शैलीमा रहने रेडियो र पत्रिकाको टिमलाई राज्यका निकायले जति खोजे पनि भेट्न र रोक्न सक्ने अवस्था थिएन। रेडियोलाई नै लक्षित गरेर हवाई र स्थलगत रुपमा आउने राज्यका सुरक्षाकर्मीबाट बच्न हामीले पनि छापामार शैली अपनाउनु पर्दथ्यो। कहिले हेलिकोप्टरबाट खसालिएका बमहरुलाई छल्दै अगाडि बढ्यौँ त कहिले नजिकै देखिएका सेनाका लस्करलाई छल्दै अर्को बाटो लाग्यौँ। यस्तै लुकामारी खेल्दै वर्गीय मुक्ति आन्दोलनका कथाहरु लेखिरहँदा आन्दोलनभित्र खारिएका पत्रकारको पंक्ति ठूलै भइसकेको थियो।

धेरै पत्रकार साथीहरुलाई समेट्नुपर्ने आवश्यकताले कुनै न कुनै संगठनको आवश्यकता महसुस सबैलाई भइरहेको थियो। यसै बीच २०६१ पौष १५ गते देशभर छरिएर रहेका जनपक्षीय पत्रकारहरुको भेला रोल्पामा राखिएको खबर हामी काभ्रे जिल्लालाई आधार बनाएर प्रसारण भएको रेडियोमा पनि आयो। खबर ढिलो प्राप्त भएको र हामी निरन्तर राज्यको सेनाको लखेटाईमा परिरहेको कारण अस्त व्यस्त अवस्थामा थियौँ। भेलामा जान पाए हुन्थ्यो भन्ने हाम्रो चाहना भए पनि परिस्थिति अनुकूल थिएन। त्यसकारण हामी जान सकेनौँ।

२०६१ पुस १५ गते रोल्पाको इरिबाङमा जनपक्षीय पत्रकारहरुको भेला भएको थियो। उक्त भेला वर्गीय मुक्ति आन्दोलनमा लामबद्ध पत्रकारहरुलाई संगठित गर्न एक संगठन आवश्यक रहेको निष्कर्ष निकाल्दै सम्पन्न भएको थियो। भेलाको यो निष्कर्षले रुकुमको लाबाङबाट २०६१ माघ १५ गते मूर्त रुप लिदै महेश्वर दाहालको संयोजकत्वमा २१ सदस्यीय अखिल नेपाल क्रान्तिकारी पत्रकार संघको आयोजक समिति चयन हुन पुग्यो।

भौतिक रुपमा उपस्थित हुन नसके पनि अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ गठन भएको र आफू पनि त्यस संगठनको केन्द्रीय सदस्य हुन पाएकोमा निकै गौरवको महसुस भयो। काठमाडौँ आसपासबाट सञ्चालित रेडियो जनगणतन्त्रबाट म र चन्द्रमान श्रेष्ठ परेका थियौँ। रोल्पा माओवादी आन्दोलनको उद्गमस्थल, त्यहाँ पुग्नका लागि माओवादी आन्दोलनमा होमिएका नेता कार्यकर्ताबीच तछाड मछाड नै हुन्थ्यो। त्यहाँ पुग्न हामीलाई पनि उत्कट चाहना थियो तर परिस्थिति प्रतिकूल थियो। यसैले भेलाको खबरले नै चित्त बुझायौँ।

अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ गठनको अवसरमा प्रत्यक्ष भेलामा जान नपाए पनि रेडियोका संवाददाताहरुको संख्या क्रमिक रुपमा बढिरहेको थियो। बेला बेलामा क्षेत्रीय रुपमा भेला/प्रशिक्षणहरु सञ्चालन भइरहेका थिए। यो क्रम देशव्यापी चलिरहेको थियो। यसरी आन्दोलनकै भट्टिबाट अखिल नेपाल क्रान्तिकारी पत्रकार संघको जन्म भएको थियो भने आन्दोलनले नै वर्गीय मुक्ति आन्दोलनमा प्रतिवद्ध सयौँ कलमका योद्धा जन्माइरहेको थियो। जनयुद्धलाई फलाउन फुलाउन कलमका सिपाहीले खेलेको भूमिका इतिहासमा अंकित हुने नै छ। अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ शान्ति प्रक्रियापश्चात् २०६३ सालमा क्रान्तिकारी पत्रकार संघ, २०७३ मा प्रेस सेन्टर, नेकपा एकीकरणपश्चात् प्रेस संगठन र नेकपा फुटपछि पुनः प्रेस सेन्टर नेपालको नाममा रहेको छ।

समय अनुसार यसको नाम बदलिए पनि प्रेस सेन्टर, नेपाल उही आन्दोलनको भट्टिबाट खारिएको श्रमजीवी वर्गको मुद्दा उठाउने श्रमजीवी पत्रकारहरुको संगठन नै हो। यसले दलित, मधेशी, महिला, उत्पीडित क्षेत्र र समुदायको आवाजलाई मुखरित गरेको छ र सधैँ गर्नुपर्दछ।

प्रेस सेन्टर, नेपालको आसन्न महाधिवेशनबाट चुनिने नेतृत्वले श्रमजीवी पत्रकारको हक हित, श्रमजीवी वर्गको आवाज उठाउने, प्रेस सेन्टरमा आबद्ध नेता कार्यकर्ताहरुलाई अब्बल बनाउन विशेष योजना ल्याउने र नेतृत्व विकासका लागि पनि प्राथमिकतापूर्वक योजना ल्याउन आवश्यक छ। प्रेस सेन्टरले धेरै पत्रकार महिलालाई नेतृत्वमा विकास गरेको छ। आगामी दिनमा पनि महिला नेतृत्वलाई देखाउन होइन उत्तराधिकारी बनाएर अगाडि बढाउन पहल गर्नेछ भन्ने आशा गर्न सकिन्छ। प्रेस सेन्टरमा उत्तराधिकारी बनेर संगठन हाँक्न सक्ने धेरै महिला उत्तराधिकारी तयार भइसकेका छन्।