काठमाडौं, २७ मंसिर । नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको मात्रै साझा संस्था बनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको अधिकार, स्वरोजगारमूलक संचार माध्यमको हित, सूचनाको हक संरक्षण र पत्रकारिताको व्यावसायिक विकासका लागि हाम्रो साझा प्यानलका प्रतिवद्धताहरुः

१) सर्वप्रथम हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतन्त्रको पक्षमा नेपाल पत्रकार महासंघले गर्दै आएको सम्झौताहिन संघर्षप्रति गौरव गर्दै यसक्रममा आफ्नो जीवन बलिदान गर्नुहुने योद्धाहरुप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछौं । साथै यसका लागि कष्टसाध्य संघर्ष गर्नुहुने हाम्रा सम्पूर्ण अग्रजसहित प्रेस स्वतन्त्रता सेनानीहरुप्रति अभिनन्दन प्रकट गर्दछौं । हामी उहाँहरुले निर्माण गरेको गौरवपूर्ण इतिहासलाई कायम राख्दै सोही बाटोमा अनबरत हिडिरहने प्रण गर्दछौं ।

२) नेपाली पत्रकारितालाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउनका लागि महासंघभित्र र पत्रकारिता क्षेत्रमै शुद्धीकरणको आवश्यकता छ । यसका लागि नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरुको मात्रै साझा संगठन बनाई आम श्रमजीवी पत्रकारको साझा नेतृत्वदायी पेशागत संगठनका रुपमा अघि बढाउनेछौं । साथै, लोकतान्त्रिक समूदायको भरोषायोग्य नागरिक संस्थाकोे रुपमा स्थापित महासंघको गरिमा, गौरव र सामाजिक स्वीकारोक्तिलाई वृद्धि गर्न प्रतिवद्ध छौं ।

३) हाम्रो प्यानल श्रमजीवी पत्रकारहरुको हकहित र अधिकारप्रति पूर्ण प्रतिवद्ध छ । हामी श्रमजीवी पत्रकार सम्बन्धी ऐनको पूर्ण कार्यान्वयनका निम्ति ठोस पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । श्रमजीवी पत्रकारका लागि औषधोपचार, तालिम, पुरस्कार, फेलोसिपको व्यवस्था गर्नूको साथै सञ्चार सामग्रीको बिमा गर्ने प्रबन्धका लागि पहल गरिनेछ । श्रमजीवी पत्रकार कल्याण कोषलाई थप प्रभावकारी बनाउने प्रण गर्दछौं ।

(४) संघ, प्रदेश र स्थानीय तहमा सञ्चारमैत्री नीति, कानून र संरचना निर्माणका लागि ठोस पहल गर्नेछौं । (५) पत्रकार आफैले चलाएका स्वरोजगारमूलक सञ्चार माध्यमको संरक्षण, समानुपातिक विज्ञापन वितरणको व्यवस्था र स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई दिलाउन ठोस पहल गर्ने छौं । साथै, सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन शतप्रतिशत वृद्धिको लागि पहल गर्नेछौं ।

६) पत्रकारिता क्षेत्रमा लामो समय योगदान दिनुभएका पत्रकारहरुका लागि वरिष्ठ पत्रकार सम्मान तथा जीवनवृत्ति र अपांगता भएका पत्रकारका लागि मासिक भत्ताको व्यवस्था, महिलाले चलाएका र मातृभाषाका सञ्चार माध्यमका लागि विशेष व्यवस्था गर्न पहल गर्ने छौं ।

७) महिला, दलित, आदिवासी, जनजाती, अपांगता, मधेशी, सीमान्तकृत र पछाडि परेका क्षेत्र, वर्ग र समुदायको आमसञ्चारमा प्रतिनिधित्व बढाउन थप पहल गर्नेछौं ।

८) पत्रकार महासंघको सदस्यता लिएका सम्पूर्ण पत्रकारको निःशुल्क दुर्घटना तथा स्वास्थ्य बिमाको प्रक्रियालाई अघि बढाउने छौं ।

९) महासंघका संघ, प्रदेश र शाखा कार्यालय भवनलाई पूर्णता दिंदै इ–लाईब्रेरी र सञ्चार संग्रहालय निर्माण गर्नेछौं । लामो समयदेखि पत्रकारितामा क्रियाशील अग्रजको ज्ञान, अनुभव र योगदानलाई ज्ञान–स्रोतका रूपमा दस्तावेजीकरण गर्नेछौं ।