काठमाडौं । हाम्रो गौरवशाली संगठन प्रेस सेन्टर नेपालको नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ ।
वैशाख १३ गते शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा माओवादी केन्द्रका प्रवक्ता तथा उपाध्यक्ष, पूर्वसभामुख तथा प्रेस सेन्टर नेपालका इन्चार्ज अग्नि सापकोटा विशिष्ट अतिथि हुनुहुन्थ्यो ।
संगठनका नवनिर्वाचित अध्यक्ष कमल गिरीलगायत नवनिर्वाचित कार्यसमितिलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । शपथलगत्तै पदभार हस्तान्तरण पनि सम्पन्न भएको छ । प्रेस सेन्टर नेपालका निवर्तमान अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ ले नवनिर्वाचित अध्यक्ष कमल गिरीलाई संगठनको पदभार हस्तान्तरण गर्नुभएको हो ।
यही चैत १६ र १७ गते काठमाडौंमा सम्पन्न प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशनले कमल गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । गिरीसहित वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । त्यस्तै, उपाध्यक्षहरूमा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का, विवेक गौतम, शान्ता अधिकारी र समावेशीमा दीपक श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
महाधिवेशनले प्रेस सेन्टरको महासचिवमा मनोज घर्तीमगरलाई निर्वाचित गरेको छ भने उपमहासचिवमा ज्ञानप्रसाद पौडेल, लक्ष्मी आचार्य, हरिश बिक, अनिल मिश्र, बुद्ध लोप्चन निर्वाचित हुनुभएको छ ।
त्यस्तै सचिवहरूमा सुरेन्द्र चालिसे, सन्तोष देउजा, अञ्जली थापा, अवतार राई, दीपेन्द्रकुमार राई, सुनिता बराल, मीनकुमार दाहाल, दीपक भट्टराई, मानसिंह बिक, गाणेशकञ्चन भारती, राजेन्द्र अवस्थी, नवराज दाहाल, केशव भुल र नन्दलाल तिवारी निर्वाचित हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा वसन्त गिरी निर्वाचित हुनुभएको छ ।
महाधिवेशनले गिरीको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । विधानअनुसार अध्यक्षको प्रस्तावमा नवनिर्वाचित केन्द्रीय समितिले केन्द्रीय सदस्यहरू मनोनयन गरेपछि केन्द्रीय समितिले पूर्णता पाउनेछ ।
तपाईंहरूको काँधमा ठूलो जिम्मेवारी आएको छः प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपालको नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्नुभयो । जनताको न्यायको पक्षमा ठूलो संघर्ष गर्नुपर्ने अवस्था रहेकाले त्यसका प्रेस सेन्टर नेपालले आफूलाई खरो रूपमा उतार्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रेस सेन्टर नेपालको नेतृत्वको जिम्मेवारी निकै ठूलो भएको बताउनुभयो । उहाँले प्रेस सेन्टर नेपालले जनवादको अभ्यास र सहमतिको प्रयासलाई स्थापित गर्दै सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । यही कारणले प्रेस सेन्टर नेपाल धन्यवादको पात्र भएको उहाँको भनाइ थियो ।
निर्वाचन भन्नेवित्तिकै बुर्जुवा प्रकृतिको हुने गरेको र त्यो पार्टी र संगठनमा पनि सर्ने हो कि भनेर आफूहरूले छलफल गर्दै आएको प्रचण्डले बताउनुभयो । प्रेस सेन्टरले मूल्याङ्कन र सहमति पनि कायम गरेको र प्रतिस्पर्धालाई पनि स्वच्छ वातावरणमा स्थापित गरेको प्रचण्डको भनाइ थियो । प्रतिस्पर्धाभित्र पनि एकताको उदाहरण प्रेस सेन्टरले दिएको भन्दै उहाँले धन्यवाद दिनुभयो ।
अन्य जनवर्गीय संगठनहरूमा निर्वाचनका क्रममा गुटबन्दी र अराजकता देखिएको भन्दै प्रेस सेन्टरले भने निकै सहजतापूर्वक प्रतिस्पर्धा स्थापित गराएको बताउनुभयो । प्रेस सेन्टरले देखाएको अनुशासन र प्रतिस्पर्धालाई संश्लेषण गर्दै त्यसबाट अन्य जनवर्गीय संगठनहरूले सिक्नुपर्ने उहाँको भनाइ थियो ।
पछिल्लो समय प्रतिक्रियावादीहरूको गतिविधि बढेको प्रचण्डको भनाइ थियो । त्यसैलै परिवर्तनकामी शक्ति माओवादी र प्रेस सेन्टर नेपाल भएकाले यी शक्तिहरू परिवर्तनको पक्षमा र उपलब्धि रक्षाका लागि दृढतापूर्वक उभिनुपर्ने बताउनुभयो । उहाँले प्रतिक्रियावादीहरूलाई खबरदारी गर्ने जिम्मेवारी माओवादी केन्द्र र प्रेस सेन्टर नेपालको काँधमा आएको बताउनुभयो ।
अहिलेको सरकार दलल पुँजीपति, विचौलियाको हित गर्ने र राम्रो काम गर्नेलाई प्रताडित गर्ने गरेको प्रचण्डको भनाइ थियो । माओवादीले मात्र मुलुक र जनताको पक्षमा राम्रो काम गर्न सक्छ भन्ने नेपाली जनतालाई परेको उहाँको भनाइ थियो । यसलाई अझ दृढतापूर्वक उठाउनुपर्ने उहाँको भनाइ छ ।
प्रचण्डले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकार उदासिन रहेको बताउनुभयो । प्रतिपक्षमा रहँदा अहिलेका प्रधानमन्त्रीले शिक्षकहरूलाई आन्दोलन किन नगरेको भनेर उक्साएको तर, अहिले शिक्षकको आन्दोलनप्रति पूरै बेवास्ता गरेको उहाँले बताउनुभयो ।
आफूहरू सरकारमा हुँदा पनि र सरकारबाहिर हुँदा पनि एउटै अडानमा रहेको बताउनुभयो । मिटरब्याजपीडित, सहकारीपीडित, शिक्षकको पक्षमा माओवादी केन्द्र नेतृत्वको सरकारले काम गरेको उहाँको भनाइ थियो । उनीहरूको पक्षमा माओवादी केन्द्र अहिले पनि रहेको उहाँको भनाइ थियो । शिक्षकको मागमा सर्वोच्च अदालतले दिएको आदेशलाई पनि सरकारले गम्भीरताका साथ नलिएको उहाँले बताउनुभयो । यो सरकारको गलत कामकारबाहीले प्रतिगामीहरूले टाउको उठाउन खोजेको उहाँको भनाइ छ ।
माओवादी केन्द्रले पछिल्लो समय चलाएको अभियानले ठूलो सफलता पाएको प्रचण्डको भनाइ थियो । उहाँले माओवादीको यो अभियानले पाएको सफलताले प्रतिगामीहरू अत्तालिएको बताउनुभयो । यो कदमलाई सामान्य नठान्न उहाँले आग्रह गर्नुभयो ।
सहयोगका लागि हरदम तयार छौँ: इन्चार्ज
प्रेस सेन्टर नेपालका इन्चार्जसमेत रहनुभएका माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले प्रेस सेन्टर नेपालको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभयो । उहाँले प्रेस सेन्टरलाई आवश्यक परेको सहयोगका लागि आफू र पार्टी हरदम तयार रहेको बताउनुभयो ।
उहाँले नेतृत्वले इतिहास बनाउने र बदल्ने भएकाले ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै अघि बढ्न सुझाव दिनुभयो । अहिले माओवादी र प्रेस सेन्टरलाई निकै ठूलो अवसर रहेको बताउनुभयो । अहिले जनताले वास्तवमा मुलुक र जनताको हित चाहने पार्टी भनेको त माओवादी नै रहेछ भन्ने परेको उहाँको भनाइ थियो ।
उहाँले पार्टी अध्यक्षको सक्रियता हेर्न आग्रह गर्दै प्रेस सेन्टर नेपालका सदस्यहरू पनि त्यसै गरी सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले अध्ययन र अभ्यास तथा फेरि अध्ययन र अभ्यासमार्फत आफूलाई विकसित गर्न उहाँले प्रेस सेन्टर नेपालका सदस्यहरूलाई आग्रह गर्नुभयो ।
उहाँले आफू हरदम प्रेस सेन्टरलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । अहिलेको युग सूचना र प्रविधिको युग भएकाले प्रेस सेन्टर त्यसमा खरो रूपमा उत्रन सक्नुपर्ने उहाँको भनाइ थियो ।
निवर्तमान अध्यक्षको शुभकामनाः
प्रेस सेन्टर नेपालका निवर्तमान अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ ले नवनिर्वाचित केन्द्रीय समितिलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले संगठनको महत्त्वपूर्ण कुरा भनेको विचार र नेतृत्व भएकाले त्यसको पक्षमा दह्रो रूपमा उभिन आग्रह गर्नुभयो ।
नवनिर्वाचित प्रेस सेन्टर पार्टीको विचार र लाइनसँग दृढतापूर्वक उभिनुपर्ने उहाँको भनाइ थियो । आफूले पनि आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्ने भएकाले त्यसले जनजीविकाका मुद्धाहरूलाई अझ दृढतापूर्वक उठाउन सघाउने बताउनुभयो ।
उहाँले आफ्नो कार्यकाल सफल बनाउन योगदान पुर्याउनुहुने केन्द्रीय सदस्य, पदाधिकारी तथा पार्टी संगठनहरूलाई धन्यवाद दिनुभयो । उहाँले प्रेस सेन्टर नेपालको संस्थापकलगायत अग्रजहरूप्रति सम्मान व्यक्त गर्नुभयो ।
अध्यक्ष गिरीको प्रतिबद्धता
शपथग्रहण तथा पदभार हस्तान्तरणपछि नवनिर्वाचित अध्यक्ष गिरीले आफ्नो प्रतिबद्धता जनाउनुभएको छ । गिरीले प्रेस सेन्टर नेपालको गौरवमय विरासत र आदर्श मूल्यमान्यतालाई आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रेस सेन्टर नेपाल प्रतिगामी तत्त्वहरूको विपक्ष र प्राप्त परिवर्तनको पक्षमा दृढतापूर्वक उभिने बताउनुभयो ।
सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य प्रचण्डको नेतृत्वमा मात्र सम्भव भएको पुनः पुष्टि भएको बताउनुहुँदै गिरीले पत्रकारितामार्फत क्रान्तिकारी एजेन्डालाई स्थापित गराउन प्रेस सेन्टरले भूमिका खेल्ने बताउनुभयो । कृष्णसेन इच्छुकलगायतको बलिदानको जगमा उभिएको प्रेस सेन्टरको भूमिका पछिल्लो समय अझ बढी रहेको उल्लेख गर्नुहुँदै गिरीले त्यसमा आफू नेतृत्वको संगठन अविराम रूपमा लाग्ने बताउनुभयो ।
प्रेस सेन्टर क्रान्तिकारी विचार बोकेका पत्रकारहरूको साझा संगठन भएको उहाँले बताउनुभयो । उहाँले प्रेस सेन्टरको नेपालको गौरवशाली इतिहास निर्माणमा उल्लेख्य भूमिका निर्वाह गर्नुहुने प्रेस सेन्टर नेपालका अग्रजहरूप्रति सम्मान व्यक्त गर्नुभयो ।
रावलको शुभकामनाः
संगठनका निवर्तमान उपाध्यक्ष तथा अध्यक्ष पदमा निर्वाचित गिरीका निकटतम प्रतिस्पर्धी दिपेन्द्र रावलले नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले विधानअनुसार आफूहरू प्रतिस्पर्धामा उत्रिएको बताउनुभयो ।
संगठनको आन्तरिक जीवनमा पहिलोपटक निर्वाचनमा सहभागी भएको बताउनुहुँदै रावलले यसले आफूलाई झन् जिम्मेवार बनाएको बताउनुभयो । साथै उहाँले आन्तरिक प्रतिस्पर्धाले दिएको परिणामलाई कसैको हार र जितको रूमा आफूले नलिएको उहाँको भनाइ थियो । यो समग्र प्रेस सेन्टर नेपालको जित भएको उहाँको भनाइ थियो ।
नवनिर्वाचित समितिलाई आफ्नो रचनात्मक आलोचना र सकारात्मक सुझाव रहने उहाँले बताउनुभयो ।