संयुक्त प्रेस विज्ञप्ति
मितिः २०८१/०२/२७

नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनले तय गरेको तीनै तह केन्द्र, प्रदेश र जिल्ला शाखा÷एशोसियट समितिको निर्वाचन हुनुपर्ने दिन २६ जेठ २०८१ हो । तर निर्धारित मितिमा निर्वाचन हुन नसकेको जानकारी महासंघले विज्ञप्तिमार्फत गराएको छ । विज्ञप्तिमा सदस्यता विवादको कारणले मात्रै निर्वाचन समयमै हुन नसकेको बताउँदै असार दोस्रो हप्ताभित्रमा निर्वाचन गरिने जानकारी गराइएको छ । निर्वाचनको कार्यतालिका सार्वजनिक नगरिएको मात्रै होइन, निर्वाचनको मिति समेत ठोस गरिएको छैन । यसले फेरि पनि अन्यौलता सिर्जना गरेको छ ।
नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न (२०७९ पुस ८–९) साधारणसभाबाट पत्रकार महासंघलाई वास्तविक पत्रकारको संस्थाको रूपमा विकास गर्ने उद्देश्यका साथ शुद्धीकरण समिति गठन गरी १५ बुँदे शुद्धीकरण मापदण्ड सार्वजनिक गरिएको थियो । सो मापदण्डका आधारमा शुद्धीकरण गरी पत्रकार महासंघको सदस्यता अभिलेखीकरण गर्न सर्वपक्षीय सहमति भएको पनि विदितै छ ।
तोकिएको समयावधिमा महासंघले आफ्नो कर्तव्य पुरा नगरेको कारण यस्तो परिस्थिति सिर्जना भएको हो । यसको जिम्मेवारी महासंघको मूल नेतृत्वले लिनु पर्दछ । महासंघले आफ्नो आधिकारिक तथ्याङ्क र धारणा सार्वजनिक गर्न नसकेपछि महाधिवेशन नै हुने÷नहुने अनिश्चितता हुँदै गएको बेला संगठनहरूकै पहलकदमीमा २७ औं महाधिवेशन सफलताका साथ सम्पन्न भएको र जेठ २६ गते निवार्चन गर्ने मिति तय भएको थियो । अन्तिम अवस्थासम्म पुग्दा पनि महासंघले सदस्यताको आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न नसक्दा तोकिएको समयमा निर्वाचन हुन नसकेको यथार्थ छर्लङ्ग छ ।
पत्रकार महासंघको निर्वाचन समयमा हुन नसक्नुले पत्रकारहरूमा महासंघको मुल नेतृत्वको निर्णय क्षमतामाथि प्रश्न उठेको मात्रै छैन महासंघ नेतृत्व महासंघलाई अमूक संगठनको छायाँ संस्थामा परिणत गर्न चाहन्छ भन्ने प्रमाणित भएको छ । अतः नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा सम्पन्न गरी यसको वैधानिकता जोगाउन हामी देहायका संगठनहरू निम्नानुसारका माग गर्दछौं ।
१. नेपाल पत्रकार महासंघको निर्वाचन २०८१ असार दोस्रो हप्ताभित्र गर्ने महासंघको प्रतिवद्धता पूर्ण रूपमा कार्यान्वयन गरियोस् ।
२ पत्रकार महासंघको सदस्यताको विषय शुद्धिकरण मापदण्ड, जिल्ला र प्रदेशको सर्वसहमति, संगठनका अध्यक्षहरूबीच भएको भद्र सहमतिसहित शुद्धिकरण कार्यदलले दिएको प्रतिवेदनको आधारमा सव्रिmय पत्रकार नछुट्ने गरी टुंगो लगाइयोस् ।
३. नेपाल पत्रकार महासंघको नेतृत्वलाई २०८१ जेठ ३२ गतेभित्रभित्र मतदाताको नामावली निर्वाचन समितिमार्फत सार्वजनिक गरि निर्वाचन प्रक्रिया शुरु गरियोस् ।
४ पत्रकार महासंघको गरिमा, गौरव र जिम्मेवारीलाई कायम राख्दै यसको कानूनी बैधानिकता कायम गर्नको लागि महासंघको निर्वाचन सम्पन्न गर्न आवश्यक सहमतिको वातावरण निर्माण गर्न तथा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
तपसिल
१. गणेश बस्नेत, अध्यक्ष, प्रेस चौतारी नेपाल
२. विष्णु सापकोटा ‘जुगल’, अध्यक्ष, प्रेस सेन्टर नेपाल
३. विश्वमणि सुवेदी, अध्यक्ष, समाजवादी प्रेस संगठन नेपाल

 

४. शेरबहादुर विश्वकर्मा, अध्यक्ष, जनपत्रकार संगठन नेपाल
५. कमल बुढा, अध्यक्ष, क्रान्तिकारी प्रेस संगठन
६. श्यामलाल पोखरेल अध्यक्ष, प्रगतिशील पत्रकार संघ नेपाल